पर्सामा अवैध सालको काठ बरामद, तस्करहरू फरार

सिमराः पर्साको पर्सागढी नगरपालिका क्षेत्रबाट प्रहरीले आइतबार बिहान अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ बरामद गरेको छ ।
राष्ट्रिय वन क्षेत्रबाट काँचो सालको काठ काटी साइकलमा लोड गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी बढनियारका प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा खटिएको टोलीले उक्त काठ नियन्त्रणमा लिएको हो ।
पर्सागढी नगरपालिका ४ बारवाटाडीस्थित एउटा आँपको बगैंचामा प्रहरी पुगेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू दुई थान साइकल र चार थान सालको गोलिया छाडेर फरार भएका थिए ।
बरामद गरिएको काठ हाल प्रहरी चौकी बढनियारको नियन्त्रणमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिनुका साथै घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ ।






