इनिशा विश्वकर्माको हत्या र रौतहट घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन


eShilalekh

२ चैत्र २०८२, सोमबार १४:४५

सिरहा: सुर्खेतकी इनिशा विश्वकर्माको हत्या र रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिटको विरोधमा सोमबार सिरहाको गोलबजारमा विशाल विरोध प्रदर्शन गरिएको छ ।

दलित विकास मञ्चको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाहरूको सहकार्यमा निकालिएको उक्त प्रदर्शनका सहभागीहरूले पीडितलाई तत्काल न्याय दिन र दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रमा चर्को नाराबाजी गर्दै राज्य दलित र महिला हिंसाका घटनामा संवेदनशील बन्न नसकेको आरोप लगाए ।

प्रदर्शनपछि गोलबजारको मुख्य चोकमा आयोजित कोणसभामा बोल्ने वक्ताहरूले पछिल्लो समय दलित महिलामाथि हिंसा र हत्याका घटना बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरे । उनीहरूले छोरीहरू विद्यालय गएपछि सुरक्षित घर फर्कनेमा अभिभावकहरू सधैं त्रसित रहनुपर्ने दुखद अवस्था सिर्जना भएको बताए ।

कोणसभाका क्रममा वक्ताहरूले राज्यका निकायहरूले महिला र दलितका मुद्दामा जिम्मेवार दृष्टिकोण नअपनाउँदा अपराधीहरूको मनोबल बढेको जिकिर गरे । कानुनी राज्य र इमान्दार प्रशासनको अभावमा महिलाहरू असुरक्षित बन्दै गएको र समाजमा स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकार गम्भीर हुनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

सभामा दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महरा, दलित अगुवा शिवकुमार महरा, दलित महिला केन्द्र (सीडीडब्लूएन) की रीता रजक र मुक्ति नेपालका दास लगायतले मन्तव्य राख्दै दलित महिलामाथि भइरहेका बलात्कार र हत्याका घटना विरुद्ध एकजुट हुन आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्