बारामा एल.पी. ग्यास बिक्री वितरणमा कडाइ, प्रशासनद्वारा निर्देशन जारी

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले जिल्लास्थित सम्पूर्ण खाना पकाउने एल.पी. ग्यास उत्पादक, वितरक तथा डिलरहरूका लागि सूचना जारी गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराईद्वारा हस्ताक्षरित उक्त सूचनामा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सुरक्षा मापदण्ड उल्लंघन गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको हो ।
प्रशासनले जारी गरेको मुख्य निर्देशनहरूमा नेपाल सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्न नपाइने, तोकिएको गुणस्तर र तौल अनुसार मात्र उपभोक्तालाई ग्यास उपलब्ध गराउनुपर्ने र सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्ने उल्लेख छ ।
साथै बजारमा अनावश्यक मौज्दात राख्न नपाइने र वितरण प्रणालीलाई पारदर्शी बनाउन ‘पालो प्रणाली’ लागू गर्न भनिएको छ ।
सूचना अनुसार डिलरहरूले उद्योगबाट खरिद गरेको परिमाण, बिक्री विवरण र मौज्दातको रेकर्ड व्यवस्थित राखी पाक्षिक रूपमा (१५ दिनमा) जिल्ला प्रशासन कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।
एक सिलिन्डरबाट अर्कोमा ग्यास खन्याएर खुद्रा बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ भने खाली सिलिन्डर प्राप्त भएपछि मात्र नयाँ सिलिन्डर दिन निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा यी नियम पालना नगरेको पाइएमा तुरुन्तै कानुनी प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत प्रशासनले प्रस्ट पारेको छ ।







