वीरगन्जमा प्रहरीका लागि उत्प्रेरणात्मक तथा स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगन्जः वीरगन्जस्थित वडा प्रहरी कार्यालय बिर्ताको आयोजनामा प्रहरी कर्मचारीहरूको स्वास्थ्य, कार्यक्षमता र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले एक दिवसीय उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडा प्रहरी कार्यालय बिर्ता र मातहतका विभिन्न युनिटहरूमा कार्यरत करिब ५० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. निरज कुमार सिंहले मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गरेका थिए ।
प्रशिक्षणका क्रममा डा. सिंहले ‘शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, व्यायाम र तनाव व्यवस्थापन’ विषयमा केन्द्रित रहेर महत्वपूर्ण जानकारीहरू प्रदान गरेका थिए । प्रहरी सेवा चुनौतीपूर्ण र धपेडीपूर्ण हुने भएकाले कर्मचारीहरू शारीरिक र मानसिक रूपमा तन्दुरुस्त रहनु अनिवार्य रहेको डा. सिंहले बताए ।
प्रस्तुत कार्यक्रमको मुख्य उद्देश्य प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै उनीहरूलाई दैनिक कार्यसम्पादनका क्रममा आइपर्ने तनाव व्यवस्थापन गर्ने प्रभावकारी उपायहरू सिकाउनु रहेको थियो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी र नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई लगायतको विशेष उपस्थिति रहेको थियो ।
यस प्रशिक्षणको निष्कर्ष स्वरूप सहभागीहरूले यस्ता रचनात्मक कार्यक्रमले प्रहरी टोलीमा नयाँ ऊर्जा सञ्चार गर्ने र नागरिक सेवाप्रति थप उत्साह एवं जिम्मेवारीबोध जगाउने विश्वास व्यक्त गरेका छन् ।






