नेपालतर्फ तस्करी गर्न लागिएको ठुलो परिमाणमा काँचो केरा भारतीय सुरक्षा टोलीद्वारा बरामद

रौतहटः रौतहट र बारा जिल्लासँग जोडिएको भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ठुलो परिमाणमा काँचो केरा भारतीय सुरक्षा बलले बरामद गरेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ७१ औं बटालियनको इन्टेलिजेन्स सेटअपबाट प्राप्त विशेष सूचनाका आधारमा सोमबार राति साढे ९ बजे सञ्चालन गरिएको संयुक्त अपरेसनका क्रममा उक्त सामग्री बरामद गरिएको हो ।
सीमा स्तम्भ नम्बर ३५६–३ नजिकै पर्ने पिठवा गाउँ क्षेत्रमा एसएसबीको एफ कम्पनी जमुनिया र झरोखर प्रहरी चौकीको टोलीले संयुक्त रूपमा निगरानी गर्दा टाउकोमा कार्टुन बोकेका र मोटरसाइकलमा सवार व्यक्तिहरू भारतबाट नेपालतर्फ आउँदै गरेको देखिएका थिए । सुरक्षा टोलीले उनीहरूलाई रोक्न खोज्दा तस्करहरू सामान छाडेर फरार भएका थिए ।
सुरुवाती खोजतलासका क्रममा बाटोमा ४३ कार्टुन केरा फेला परेकोमा, अपरेशनलाई थप विस्तार गर्दा पिथवा गाउँको आँपको बगैँचा र बन्सवाडी क्षेत्रमा त्रिपालले ढाकेर लुकाइराखिएको अवस्थामा ठुलो परिमाणमा कार्टुनहरू भेटिएका थिए ।

एसएसबी ७१ औं बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट विश्वजित तिवारीका अनुसार आँपको बगैंचाबाट सात सय सात कार्टुन र बन्सवाडी क्षेत्रबाट एक हजार एक सय १० कार्टुन गरी कुल एक हजार आठ सय १७ कार्टुन काँचो केरा बरामद गरिएको छ ।
बरामद गरिएको प्रत्येक कार्टुनको तौल करिब १३.५ किलो रहेको र ती सामग्रीहरू नासिने प्रकृतिको भएकाले यसबारे उच्च अधिकारीहरूलाई जानकारी गराई आवश्यक कारबाहीका लागि झरोखर प्रहरी चौकीमा बुझाइएको छ ।
बरामद सामग्रीको कसैले पनि स्वामित्व नलिएपछि सुरक्षा स्रोतले ती वस्तुहरू तस्करीकै लागि संकलन गरिएको पुष्टि गरेको छ ।






