सर्लाहीमा युवकमाथि अमानवीय व्यवहार र कुटपिट, एक जना पक्राउ


eShilalekh

३ चैत्र २०८२, मंगलवार १२:०९

सर्लाहीः सर्लाहीमा एक युवकमाथी अमानवीय व्यवहार र कुटपिट गर्ने अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सर्लाहीको कविलासी नगरपालिका १० स्थित चमेलीमाई मन्दिर पछाडि रहेको फनपार्कमा एक युवकलाई अर्धनग्न बनाएर सामुहिक कुटपिट गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले रोहितकुमार यादवलाई पक्राउ गरेको हो ।

गत फागुन २३ गते भएको उक्त घटनामा चक्रघट्टा गाउँपालिका ९ निवासी राजकुमार यादवका १९ वर्षीय छोरा प्रमितकुमार यादवमाथि केही व्यक्तिहरूको समूहले अमानवीय ढंगले कुटपिट गरेको देखिएको छ ।

पीडित पक्षले फागुन २९ गते मुख्य आरोपित रोहितकुमार लगायतका व्यक्तिहरूविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र अंगभंगको आरोपमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जाहेरी परेकै दिन प्रहरीले प्रतिवादीमध्येका रोहितकुमारलाई नियन्त्रणमा लिएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट फागुन २९ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रहरीले उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि तीव्र खोजी भइरहेको र दोषीहरूलाई कानुनी दायरामा ल्याइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्