सिमरामा महिला हिंसाविरुद्ध शान्तिपूर्ण प्रदर्शन

सिमरा: महिला हिंसाका घटनाविरुद्ध आवाज उठाउँदै जीतपुरसिमराका जागरुक महिलाले बुधबार साँझ सिमरामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी महिलाहरूले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका महिला हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। विशेषगरी सुर्खेतमा इनिशा विकमाथि भएको बलात्कारपछि हत्या र पर्साको पर्सागढीमा श्रीमानले श्रीमतीको खुट्टा काटेको घटनाले समाजमा असुरक्षाको अवस्था बढाएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
हातमा प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले `हिंसा सहनु पनि अपराध हो, महिला हिंसाविरुद्ध आवाज उठाऔं´ जस्ता नारासहित सचेतना फैलाउने प्रयास गरेका थिए ।
उनीहरूले महिला हिंसाका घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै राज्यलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । उनीहरुले समाजका सबै तहबाट महिला अधिकारको सम्मान र संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।






