सांसद कानुद्वारा घरेलु हिंसा पीडित हरिकलाको उपचार खर्च बेहोर्ने घोषणा


eShilalekh

५ चैत्र २०८२, बिहीबार १३:४७

वीरगन्जः पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले घरेलु हिंसाबाट गम्भीर घाइते भएकी हरिकला देवी सहनीको सम्पूर्ण उपचार खर्च आफूले बेहोर्ने प्रतिबद्धता जनाएका छन् ।

बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा उनले आफ्नो पारिश्रमिक वा अन्य वैकल्पिक माध्यमबाट भए पनि उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गरे ।

गत आइतबार बिहान पर्साको पर्सागढी नगरपालिका ७ मा घरायसी विवादका क्रममा विश्वनाथ सहनीले आफ्नी श्रीमती हरिकलाको हातखुट्टा र मुख बाँधेर काठ काट्ने आराले खुट्टा काट्दै आक्रमण गरेका थिए ।

प्रहरी चौकी बढनियारको टोलीले गम्भीर अवस्थामा उद्धार गरी उनलाई सुरुमा नारायणी अस्पताल पुर्‍याएको थियो, जहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एलएस न्युरो अस्पतालमा भर्ना गरिएको हो ।

सांसद कानुले घटनाका दोषी विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।

महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधारको आवश्यकता रहेको औँल्याउँदै उनले आगामी संसद् अधिवेशनमा यो विषयलाई सशक्त रूपमा उठाउने र सरकारसँग पीडितका लागि विशेष राहतको माग गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्