वीरगन्जस्थित नारायणी रंगशालामा पुनर्निर्माण कार्यको सुरुवात

वीरगन्जः वीरगन्जस्थित नारायणी रंगशालाको पुनर्जीवनका लागि औपचारिक रूपमा पुनर्निर्माण कार्यको सुरुवात गरिएको छ ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको रंगशालाको प्याराफिट पुनर्निर्माण कार्यको बिहीबार मधेस प्रदेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ताले शिलान्यास गरेका हुन् । दशरथ रंगशालापछिको दोस्रो ठूलो (३५ हजार क्षमता) मानिने यो रंगशाला दशकौँको उपेक्षापछि अन्ततः मर्मत हुन लागेको हो ।
पुनर्निर्माणका लागि हाल अंकुर निर्माण सेवा काठमाडौँले दुई करोड १७ लाख ७२ हजार रुपैयाँ (भ्याट बाहेक) मा ब्लक ‘सी’ को प्याराफिट निर्माणको ठेक्का पाएको छ । राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर शिवचन्द्र यादवका अनुसार तत्कालीन केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको चार करोड रुपैयाँ बजेटबाट यो काम अघि बढेको हो ।
हाल डोजर लगाएर पुराना र जोखिमपूर्ण प्याराफिटहरू भत्काउने काम भइरहेको छ, जसलाई पहिलो चरणको मुख्य योजना मानिएको छ । वर्षौँदेखि खेलप्रेमी र खेलाडीहरूले रंगशाला मर्मतका लागि गर्दै आएको आन्दोलन र जनप्रतिनिधिहरूले संसदमा उठाएको आवाजले ढिलै भए पनि मूर्त रूप लिएको छ ।
करिब डेढ दशकदेखि राष्ट्रिय स्तरका खेलहरू ठप्प रहेको यस मैदानमा अब नयाँ संरचना बनेसँगै वीरगन्जको खेलकुदले पुरानै साख फर्काउने विश्वास लिइएको छ ।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले जीर्ण संरचना भत्काएर आधुनिक र सुरक्षित प्याराफिट बनाउने कार्यलाई तीव्रता दिइने बताए।






