तराईमा मौसम प्रतिकूल: शुक्रबार र शनिबार भीषण हावाहुरी चल्ने प्रक्षेपण


eShilalekh

५ चैत्र २०८२, बिहीबार १८:१४

सिमराः आगामी केही दिन देशका विभिन्न भागमा मौसम प्रतिकूल रहने देखिएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।

चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

यसका साथै शुक्रबारदेखि दाङ र नेपालगन्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रमा र शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झण्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ ।

प्रि मनसुनको अवधि भएकाले तीव्र हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा छानाहरू उड्ने र विद्युत एवं सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

पछिल्ला दिनहरूमा हावाहुरीका कारण धनजनको क्षति समेत भइसकेको सन्दर्भमा, उल्लेखित क्षेत्रका बासिन्दा तथा यात्रीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्राधिकरणले हावाहुरी चलेका बेला घरभित्रै झ्यालढोका बन्द गरेर बस्न, आगोका स्रोतहरू बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा ओत लाग्न र भीडभाडमा नआत्तिन सुझाव दिएको छ ।

साथै सुरक्षाका दृष्टिकोणले कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका पोल मुनि नबस्न तथा विद्युतीय उपकरणहरू नचलाउन समेत सचेत गराइएको छ ।

मौसम सम्बन्धी नियमित अपडेटहरूमा ध्यान दिँदै सम्भावित जोखिमबाट बच्न आवश्यक तयारी गर्न प्राधिकरणले सबैमा हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्