मधेशसहित तराईका जिल्लामा ६० किमि प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने चेतावनी

सिमराः जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष बुलेटिन जारी गरेको छ ।
बुलेटिन अनुसार विशेषगरी मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागमा प्रतिघण्टा ५० देखि ६० किलोमिटरसम्मको वेगमा हावाहुरी चल्ने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसरी चल्ने शक्तिशाली हावाहुरीका कारण रुखहरू ढल्न सक्ने, कच्ची तथा कमजोर संरचनाका छानाहरू उड्ने र जनजीवन प्रभावित हुन सक्ने जोखिम रहेको छ ।
साथै विद्युत सेवा र सञ्चार माध्यमहरूमा समेत अवरोध आउन सक्ने सम्भावना रहेकाले सर्वसाधारणलाई आवश्यक सुरक्षाका उपायहरू अपनाउन र उच्च सतर्कता रहन अनुरोध गरिएको छ ।
महाशाखाले हालको मौसमी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ।
मौसममा आउने फेरबदल अनुसार सूचनाहरू नियमित रूपमा अध्यावधिक गरिने भएकाले सबैलाई पछिल्लो मौसमी जानकारीको सम्पर्कमा रहन समेत आग्रह गरिएको छ ।







