सिरहा बम विस्फोट घटना: विस्फोटमा संलग्न रहेको आशंकामा एक जना पक्राउ


eShilalekh

६ चैत्र २०८२, शुक्रबार १२:२३

सिरहाः सिरहा जिल्ला अदालत अगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ३ का गुमस्ता यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने उनले बताए ।

शंकाको आधारमा यादवलाई पक्राउ गरिएको र हाल चार दिनदेखि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यादव सिरहा अदालत अगाडि कार्यालय खोलेर लेखापढी गर्दै आइरहेका थिए ।

विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका थिए । घाइते हुनेमा सिरहा नगरपालिका १ का सौरभ यादव रहेका छन् । उनको खुट्टामा चोट लागेको थियो ।

घटनामा कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्