हसिना खातुन मृत्यु प्रकरणः न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन


eShilalekh

६ चैत्र २०८२, शुक्रबार १४:३८

जनकपुरधामः जनकपुरधाम उपमहानगरपालिका २५ की हसिना खातुनको शंकास्पद मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।

खातुनको माइती पक्ष, आफन्त र अधिकारकर्मीहरूले जिल्ला प्रहरी कार्यालय धनुषाको मूल ढोका अगाडि भेला भई दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका हुन् । प्रदर्शनकारीहरूले ‘हत्यारालाई कारबाही गर’ र ‘पीडितलाई न्याय दे’ जस्ता नारा लगाउँदै घटनाको निष्पक्ष छानबिनका लागि दबाब दिएका छन् ।

गत फागुन १३ गते आफ्नै घरमा मृत फेला परेकी हसिनाको मृत्युलाई उनका घर पक्षले आत्महत्या बताए पनि माइती पक्षले भने यसलाई योजनाबद्ध हत्या भएको दाबी गरेका छन् ।

दाइजोको विषयलाई लिएर घरमा पटक–पटक विवाद हुने गरेको र सोही तनावका कारण उनको ज्यान लिइएको माइती पक्षको आरोप छ । प्रदर्शनमा सहभागी मृतककी भाउजु लिखत प्रविणले घटनाको प्रकृति र पृष्ठभूमिबारे गम्भीर आरोप लगाएकी छिन् ।

प्रविणका अनुसार हसिनाको हत्यामा उनका श्रीमान शहनवाज शेष (मुन्ना), सासु र ननदको प्रत्यक्ष संलग्नता रहेको छ । दुई वर्षअघि आठ लाख रुपैयाँ दाइजो दिएर धुमधामसँग विवाह गरिए पनि थप रकमका लागि हसिनालाई निरन्तर मानसिक र शारीरिक यातना दिने गरिएको उनले बताइन् ।

साथै श्रीमानको अन्य महिलासँगको सम्बन्धका कारण उनले दोस्रो विवाह गर्ने योजना बनाएको र त्यसकै बाधक ठानेर हसिनाको हत्या गरिएको दाबी प्रविणले गरेकी छिन् ।

यस घटनालाई धनुषा प्रहरीले गम्भीरतापूर्वक लिँदै अनुसन्धान सुरु गरेको छ । प्रहरीले हाल मृतकका श्रीमान शहनवाज शेषलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

संकलित प्रमाण, विभिन्न पक्षको बयान र पोस्टमार्टम रिपोर्टको विस्तृत अध्ययनपछि मात्र घटनाको वास्तविक तथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्