वीरगन्ज भन्सार क्षेत्रबाट २० लाख रुपैयाँसहित एक जना पक्राउ


eShilalekh

६ चैत्र २०८२, शुक्रबार १४:३९

वीरगन्जः सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट स्रोत खुल्न नसकेको २० लाखभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका १७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन्।

भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले भन्सार कार्यालय अगाडि रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको अवस्थामा नेपाली २० लाख दुई हजार ५० रुपैयाँ तथा भारतीय ६ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको रकमको स्रोत खुलाउन नसकेपछि तुराहालाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

पक्राउ परेका तुराहालाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्