भारतको महिला आश्रय गृहमा रहेका दुई नेपाली युवतीलाई उद्धार गरी नेपाल ल्याइयो


eShilalekh

६ चैत्र २०८२, शुक्रबार १५:३७

वीरगन्जः भारतका विभिन्न महिला गृहमा आश्रित दुई नेपाली युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ । मानव बेचबिखन विरुद्ध सक्रिय संस्था आफन्त इन्डिया फाउन्डेसनकी स्वदेश फिर्ती (रिप्याट्रेशन) अधिकृत सुनिता जैरुको नेतृत्वमा वीरगन्ज र धनुषाकी युवतीलाई वीरगन्ज ल्याइएको हो ।

उनीहरूलाई अहिले आफन्त नेपाल वीरगन्ज शाखाको आश्रय गृहमा राखिएको छ । वीरगन्जकी युवतीको सन् २०१९ मा १५ वर्षको उमेरमा भारतको उत्तर प्रदेशस्थित गोन्डा निवासी एक युवकसँग बालविवाह भएको थियो । शारीरिक र मानसिक यातना सहन नसकी मानसिक अवस्था बिग्रिएपछि उनी सन् २०२३ मा घर छोडेर हिँडेकी थिइन् ।

अयोध्याको सडकमा विक्षिप्त अवस्थामा फेला परेकी उनलाई भारतीय प्रहरीले राजकीय महिला शरणालयमा राखेको थियो । त्यहाँ तीन वर्षको उपचार र आश्रयपछि स्वस्थ भएकी उनले आफ्नो ठेगाना बताएपछि दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा उद्धार सम्भव भएको हो ।

यसैगरी धनुषाकी अर्की युवतीको कथा पनि उत्तिकै पीडादायी छ । १८ वर्षकै उमेरमा विवाह भएकी उनलाई पति र देवर दुवैले शारीरिक र मानसिक शोषण गरेका थिए । सासू र नन्दको समेत हिंसा सहन नसकी घरबाट भागेकी उनी भारतको राजस्थान पुगेकी थिइन् ।

त्यहाँको ‘अपना घर’ नामक संस्था र राजकीय बालिका गृहको आश्रयमा रहेकी उनले आफ्नो माइतीको ठेगाना खुलाएपछि आफन्त इन्डिया फाउन्डेसनको सम्पर्कमा आएका थिए ।

आफन्त नेपाल वीरगन्ज शाखा प्रमुख मनु रानाका अनुसार दुवै युवतीका परिवारसँग सम्पर्क भइसकेको छ । यो सफल उद्धार दिल्लीस्थित नेपाली दूतावास र भारतीय प्रहरीसँगको निरन्तर समन्वयका कारण सम्भव भएको रिप्याट्रेशन अधिकृत जैरुले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्