प्रधानमन्त्री सुशीला कार्कीद्वारा जानकी मन्दिर दर्शन

जनकपुरधामः प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बिहान धनुषाको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा विशेष पूजाआराधना गरेकी छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत जनकपुरधाम पुगेकी प्रधानमन्त्री कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी हुन् ।
सो अवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ रामरोशन दासले उहाँलाई स्वागत गर्दै पुष्पमाला र प्रसाद प्रदान गरेका थिए भने मन्दिरका पुजारीहरूले स्वस्तिवाचन गरी आशीर्वाद दिएका थिए ।
जनकपुरधामलाई नेपालको धार्मिक एवं सांस्कृतिक गौरवको रूपमा चित्रण गर्दै उहाँले देशभरका यस्ता ऐतिहासिक सम्पदाहरूको संरक्षण र संवद्र्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन् । जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उनको भनाई छ ।
वर्तमान अन्तरिम सरकार जनताको अपेक्षाअनुरूप सुशासन, विकास र स्थायित्व कायम गर्न केन्द्रित रहेको उल्लेख गर्दै उहाँले देशको समृद्धिका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरीन् ।
यसअघि प्रधानमन्त्री कार्कीलाई जनकपुर विमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रदेशका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरू तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायतले भव्य स्वागत गरेका थिए ।






