वीरगन्जकी माधुरी महतो उत्कृष्ट महिला पत्रकारको रूपमा सम्मानित

वीरगन्जः वीरगन्जकी पत्रकार माधुरी महतो मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारको रूपमा सम्मानित भएकी छन् ।धनुषास्थित रेडियो धनुषाले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष समारोहका बीच महतोलाई सम्मान गरेको हो ।
मधेस खबर अनलाइनकी सम्पादक तथा बीबीसी नेपाली सेवामा समेत कार्यरत महतोलाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष र रेडियो धनुषाका अध्यक्ष मुकेशकुमार ठाकुरले पत्रकार महतोलाई सम्मानपत्र तथा नगद रकम हस्तान्तरण गरेका हुन्
महतो करिब डेढ दशकको रेडियो पत्रकारिता अनुभवसहित अनलाइन तथा बीबीसी नेपाली सेवामा पनि योगदान पुर्याइरहेकी छन् । यसैगरी कार्यक्रममा धनुषाका विजय साह (गोरखापत्र), सिरहाका मनिलाल बिक (नयाँ पत्रिका) र रेडियो मिथिलामा कार्यरत मनिष मैथिललाई पनि सम्मानित गरिएको छ ।






