परीक्षा रद्द भएपछि वीरगन्जमा विद्यार्थी आन्दोलितः घण्टाघरमा टायर बालेर प्रदर्शन


eShilalekh

८ चैत्र २०८२, आईतवार १२:३३

वीरगन्जः वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को नियमित त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।

आइतबारदेखि (आज) सञ्चालन हुने भनिएको परीक्षा कलेज प्रशासनले स्थगित गरेको सूचना जारी गरेलगत्तै परीक्षा दिन पुगेका विद्यार्थीहरू आक्रोशित बनेका हुन् ।

विद्यार्थीहरूले कलेजको मुख्यद्वार अगाडि धर्ना दिँदै क्याम्पस प्रमुख, प्रशासन र सञ्चालक समितिविरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरूले परीक्षा निर्धारित समय तालिका अनुसार नै हुनुपर्ने र दैनिक शैक्षिक गतिविधिमा कुनै अवरोध हुन नहुने माग राखेका छन् ।

विद्यार्थीहरूका अनुसार कलेजको आन्तरिक व्यवस्थापन, कर्मचारी र सञ्चालक समितिबीचको आपसी विवादका कारण पठनपाठन र परीक्षा पटक–पटक प्रभावित हुँदै आएको छ । कलेज प्रशासनको आन्तरिक द्वन्द्वले आफ्नो भविष्यमाथि खेलबाड भइरहेको आरोप लगाउँदै विद्यार्थीहरूले कलेजको मूलद्वारबाट र्‍याली निकालेका थिए ।

उक्त र्‍याली वीरगन्जको मुख्य घण्टाघर चोकमा पुगेर चक्काजाम र टायर बालेर प्रदर्शनमा परिणत भएको थियो ।

प्रदर्शनका क्रममा केही विद्यार्थी तोडफोडमा उत्रिएपछि प्रहरी र विद्यार्थीबीच सामान्य तनाव सिर्जना भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले स्थिति नियन्त्रणमा लिन ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

आन्दोलनरत विद्यार्थीहरूले विशेषगरी निमित्त क्याम्पस प्रमुख रवीन्द्र यादवको राजीनामा माग गरिरहेका छन् । यता कलेज प्रशासनले भने परीक्षा के–कस्ता कारणले स्थगित गरिएको हो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्