रौतहटबाट नक्कली सुन कारोबारमा संलग्न चार जना पक्राउ

रौतहट: नक्कली सुन कारोबारमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङको टोलीले मंगलबार दिउँसो चन्द्रपुर नगरपालिका ५ स्थित जगत रिसोर्ट होटलको कोठा नम्बर १०२ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका ३ का ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका १० का ३० वर्षीय अरविन्द चौधरी, रौतहट बौधीमाई नगरपालिका ६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडी निवासी ३० वर्षीय संजोक बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेकाहरूको कोठाबाट `क्रेडिट सुइस १० ग्राम फाइन गोल्ड ९९९.९´ लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ४ थान, पोलेर कालो बनाइएको धातु १ थान, टुक्रा पारिएको धातु २ थान, एक थान दुरवीन तथा ६ थान मोबाइल बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नक्कली सुनलाई सक्कली भन्दै बिक्री गर्ने उद्देश्यले कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रवक्ता बस्यालले जानकारी दिए।





