सिमरा जेसीजको ‘मर्यादित महिनावारी सचेतना’ कार्यक्रम

सिमराः सिमरा जेसीजको आयोजनामा बिहीबार किशोरी लक्षित ‘मर्यादित महिनावारी सचेतना’ कार्यक्रम सम्पन्न भएको छ । ‘मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जेसीजले सिमरा कलेजका छात्रालाई लक्षित गरेर कार्यक्रम आयोजना गरेको हो ।
सिमरा कलेजमा अध्ययनरत करिब एक सय छात्रा सहभागी कार्यक्रममा महिला पत्रकार लक्ष्मी खरेलले सहजीकरण गरेकी थिईन् । सहजीकरणका क्रममा खरेलले महिनावारी प्राकृतिक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई लुकाउनु पर्ने विषय नभई मर्यादित र स्वास्थ्यमैत्री बनाउनुपर्नेमा जोड दिएकी थिईन् । खरेलले महिनावारी स्वच्छता र खानपानका विषयमा सहजीकरण गरिन् ।

सिमरा जेसीजका संस्थापक अध्यक्ष धनञ्जय थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवम् सल्लाहकार शालिकराम अधिकारी, सिमरा कलेजका प्रमुख शम्भुप्रसाद खरेल, महासचिव सञ्जीव सुवेदी, कार्यक्रम संयोजक अंशु अधिकारीलगायत उपस्थित थिए । कार्यक्रम सिमरा जेसीजका अध्यक्ष सुमित अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।





