आज श्रद्धापूर्वक रामनवमी मनाइँदै, देशभर सार्वजनिक बिदा


eShilalekh

१३ चैत्र २०८२, शुक्रबार ०७:३८

सिमरा: असत्यमाथि सत्यको विजयका प्रतीक भगवान् श्री रामचन्द्रको जन्मजयन्तीका अवसरमा आज (शुक्रबार) देशभर रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। चैत्र शुक्ल नवमीका दिन मनाइने यस पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा आजकै दिन भगवान् श्री रामचन्द्रको जन्म भएको थियो। पौराणिक मान्यता अनुसार उनी भगवान् विष्णुको सातौँ अवतार हुन्।

भगवान् रामको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। उनको कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योगका साथै सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ रहेका थिए। यस्तो दुर्लभ योगमा जन्मिएका रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी ‘रामराज्य’ स्थापना गरेको धर्मशास्त्रमा उल्लेख छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार रामनवमी पर्व मनाउनुको मुख्य उद्देश्य रामजस्तै मर्यादित, अनुशासित र आदर्श चरित्र निर्माणको प्रेरणा लिनु हो।

गार्ग्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको र नवमीका दिन रामचन्द्रको पूजा, जप र ध्यान गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। आजका दिन देवीको पूजासँगै रामको आराधना गरेमा ‘श्री’ (ऐश्वर्य) प्राप्त हुने शास्त्रीय मान्यता छ।

जनकपुर र अयोध्यामा विशेष रौनक

रामनवमीका अवसरमा भगवान् रामको ससुराली मानिने नेपालको जनकपुर र जन्मभूमि भारतको अयोध्यामा विशेष मेला लाग्ने गर्दछ। जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा आज नेपाल र भारतका हजारौँ दर्शनार्थीको घुइँचो लागेको छ। विभिन्न स्थानमा रामलीला प्रदर्शन, भजनकीर्तन र रामायण वाचनका कार्यक्रमहरू आयोजना गरिएका छन्।

रामनवमीका अवसरमा बारा, पर्सामा समेत विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्