नेपालतर्फ ल्याउँदै गरेको ठुलो परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ


eShilalekh

१५ चैत्र २०८२, आईतवार १३:४५

सिमराः नेपाल–भारत सीमा क्षेत्र बारामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला बारा कबहिगोठ ३ जमुनिया गाउँका ५० वर्षीय रमेश प्रसाद र भारतको पश्चिम चम्पारण जिल्लाका ३५ वर्षीय जन्मेजय कुमार मिश्र रहेका छन् ।

सशस्त्र सीमा बल ७१ बटालियन मोतिहारीको ‘बी’ कम्पनी महुआवा र छौदादानो थानाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा उनिहरुलाई पक्राउ गरेको हो ।

सीमास्तम्भ (आईएनबी) बीपी नम्बर ३७६ नजिकै पर्ने बेला गाउँ क्षेत्रबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरिएको बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड सवारीसाधनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा एक सय एमएलका आठ सय ४० बोतल कोडिनयुक्त (मनोप्रभावी) ओनेरेक्स कफ सिरप बरामद गरिएको प्रहरीले जनाएको छ ।

एसएसबी प्रवक्ता विनीत कुमार सिंहका अनुसार बरामद लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई थप कानुनी कारबाही र अनुसन्धानका लागि स्थानीय छौडादानो थानामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्