एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ विरुद्ध कलैयामा विरोध प्रदर्शन


eShilalekh

१५ चैत्र २०८२, आईतवार १४:०९

कलैया: नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाको विरोधमा आइतबार कलैयामा विरोध प्रदर्शन गरिएको छ।

ओली र लेखकलाई उनीहरूकै निवासबाट पक्राउ गरिएलगत्तै एमालेले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो। सोही कार्यक्रम अन्तर्गत एमाले बाराले कलैयामा विरोध र्‍याली निकाल्दै दुवै नेतालाई तत्काल रिहा गर्न माग गरेको हो।

प्रदर्शनपश्चात एमाले टोलीले जिल्ला प्रशासन कार्यालय बारामार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाएको छ। एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाउँदै यो पक्राउलाई प्रतिशोधपूर्ण र गैरकानूनी रहेको उल्लेख गरेका छन् ।

कानूनी शासनको मर्म विपरित ओली र लेखकलाई पक्राउ गरिएकाले घटनाको एमाले बाराले भत्र्सना गर्ने जनाँउदै पाण्डेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष एवम् न्यायीक छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग गठन गर्न समेत माग गरेको छ ।

विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू बलबीर चौधरी, मोबिन आलम, मधेश प्रदेश सचिव मनोज पौडेल, सचिवालय सदस्य सुन्दर विकलगायत विभिन्न तहका नेता तथा जनसंगठनका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

भदौमा भएको ‘जेन-जी’ आन्दोलनको क्रममा भएका मृत्युको विषयलाई लिएर गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा वर्तमान सरकारले ओली र लेखकमाथि फौजदारी लापरवाहीको आरोपमा अनुसन्धान अघि बढाएको हो। एमालेले भने यसलाई राजनीतिक प्रतिशोध रहेको उल्लेख गर्दै देशव्यापी प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्