रौतहटमा २० मोटरसाइकलसहित लाखौँको अवैध सामान बरामद

रौतहट: रौतहटमा पछिल्लो समय प्रहरीले सुरक्षा चेकजाँचमा कडाइ गरेसँगै ठुलो परिमाणमा चोरीका मोटरसाइकल र भन्सार छलीका सामग्रीहरू फेला पर्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार विभिन्न मिति र समयमा परिचालित प्रहरी टोलीले आवश्यक कागजात नभएका २० थान मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका मोटरसाइकलहरूको अनुमानित बजार मूल्य ११ लाख १० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी चेकजाँचकै क्रममा गौर नगरपालिका ५ को क्षेत्रबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको खाद्यान्न तथा इलेक्ट्रोनिक सामानहरू पनि बरामद गरिएको छ । प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले दिएको जानकारी अनुसार ती सामानहरूको मूल्य ६७ हजार आठ सय ९० रुपैयाँ बराबर रहेको छ ।
प्रहरीले बरामद गरेका मोटरसाइकल र अन्य सामग्री गरी कुल ११ लाख ७७ हजार ८९० रुपैयाँ बराबरको धनमाल आवश्यक कानुनी कारबाहीका लागि आइतबार साँझ गौर भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्लामा चोरी पैठारी र अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले आफ्नो सक्रियतालाई निरन्तरता दिने बताएको छ ।





