वीरगन्जमा प्रहरी जवानको धारिलो हतियार प्रहार गरी हत्या, चार जना पक्राउ


eShilalekh

३० चैत्र २०८२, सोमबार १४:१२

वीरगन्जः पर्साको वीरगन्ज महानगरपालिका ९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

मृत्यु हुनेमा पर्साकै कालिका माई गाउँपालिका १ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन् । मृतक चौरसिया नेपाल प्रहरीमा कार्यरत बहालवाला प्रहरी जवान हुन् । उनी वीरगन्जको मुर्लीमा डेरा गरी बस्दै आएका थिए । उनि १० दिनको बिदामा घर आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार वीरगन्ज ९ स्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला पारिएको थियो । उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले उक्त हत्यामा संलग्न भएको आशंकामा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेका छन् ।

घटनाको प्रकृति र हत्याको कारणबारे प्रहरीले गम्भीरतापूर्वक थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्