राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुखको कार्यकक्षमा आगलागी

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ । मंगलबार राति करिब १२ बजे भएको आगलागीमा कार्यालय प्रमुख डिल्लीराज लेखकको कार्यकक्ष जलेर नष्ट भएको हो ।
विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट कार्यालय भवनको दोस्रो तल्लामा रहेको कार्यकक्षभित्रका ल्यापटप, एसी, फर्निचरलगायत सबै सामग्री जलेर नष्ट भएका छन् ।

कार्यालय सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कार्यकक्षबाट धुवाँ निस्किएको देखेपछि अन्य कर्मचारीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाकर्मी र कर्मचारीले फायर एक्स्टिङ्गुइजर प्रयोग गरी आगो नियन्त्रणमा ल्याएका हुन् । कार्यालय प्रमुख लेखकले आगलागीबाट कार्यकक्षका सामग्री नष्ट भएको पुष्टि गर्दै क्षतिको यकिन विवरण संकलन भइरहेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले विद्युत् सर्टका कारण आगो लागेको र क्षतिको विवरण संकलन भइरहेको बताए। आगलागीबाट भएको कुल क्षतिको मूल्याङ्कन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।





