सर्लाहीमा निर्माणाधीन घरको छत भत्किँदा दुई मजदुरको मृत्यु

सर्लाही: सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन चारतल्ले पक्की घरको छत भत्किँदा दुई मजदुरको ज्यान गएको छ । मलंगवा नगरपालिका १० निवासी रंजित यादवको निर्माणाधीन घरमा काम गरिरहेका दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार साँझ मलंगवा नगरपालिका २ निवासी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका २ निवासी ४० वर्षीय राजकिशोर यादव छतबाट खसेका हुन्। उनीहरू पानी ट्यांकी राख्नका लागि बनाइएको ढलानमा प्लास्टर गरिरहेका थिए।
काम गर्ने क्रममा अचानक छत भत्किएर दुवै जना जमिनमा खसेका हुन् । घटनामा उनीहरूको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामा तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि उपचारकै क्रममा साँझ चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ ।






