तीन नम्बर पुलको बस्तीमा चल्यो डोजर, स्थानीय आक्रोशित


eShilalekh

१ जेष्ठ २०८३, शुक्रबार १३:४१

सिमरा: त्रिभुवन राजपथअन्तर्गत पथलैया-हेटौंडा सडकखण्डको तीन नम्बर पुलस्थित बस्तीमा शुक्रबार बिहान डोजर चलाइएको छ । डिभिजन वन कार्यालय बारा, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको संयुक्त टोलीले बस्ती खाली गराउन डोजर प्रयोग गरेको हो ।

डिभिजन वन कार्यालय बाराका अधिकृत ललनराउत कुर्मीले वन तथा निकुञ्ज क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाइएको जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा रहेका ३८ वटा घरटहरा भत्काइने छन् ।

‘बस्ती खाली गर्न पटक–पटक माइकिङ र लिखित सूचनामार्फत जानकारी गराइएको थियो । अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको हो’ कुर्मीले भने ।

तर स्थानीय व्यवसायीहरूले भने आफूहरूमाथि राज्यले दमन गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार सडक विभागले दुई साताअघि सूचना जारी गरेपछि सडक सीमाभन्दा २५–२५ मिटर टाढा आफैं हटिसकेको अवस्थामा एक्कासि डोजर चलाइएको हो ।

झण्डै पाँच दशकदेखि बसोबास रहेको तीन नम्बर पुल क्षेत्र सवारी चालक र यात्रुहरूको विश्रामस्थलका रूपमा परिचित छ । उक्त क्षेत्रमा होटल व्यवसाय सञ्चालन हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्