सिमरामा फरक क्षमताका छात्रालाई ६ महिने सिलाइकटाइ तालिम

सिमरा: कान नसुन्ने तथा बोल्न नसक्ने फरक क्षमताका छात्राहरूलाई लक्षित गर्दै बाराको सिमरामा शुक्रबारदेखि ६ महिने सीपमूलक सिलाइकटाइ तालिम सुरु गरिएको छ ।
नेपाल अपांग सेवा संघ बाराले श्री साथी नेपालको सहयोगमा सञ्चालन गरेको तालिममा १२ जना फरक क्षमताका छात्राहरू सहभागी छन् । सहभागीमध्ये केहीले विद्यालय शिक्षा छाडिसकेका छन् भने केही अझै अध्ययनरत रहेका छन् ।
तालिमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले फरक क्षमताका व्यक्तिहरूलाई सीप र अवसर प्रदान गर्न सके उनीहरू समाजका सक्षम र उत्पादनशील नागरिक बन्न सक्ने बताए ।
नेपाल अपांग सेवा संघ बाराका पूर्वअध्यक्ष गंगाप्रसाद वाग्लेले सीपको अभावमा फरक क्षमताका व्यक्तिहरू रोजगारी तथा स्वरोजगारका अवसरबाट वञ्चित हुने अवस्था अन्त्य गर्न तालिम आयोजना गरिएको जानकारी दिए ।
सिलाइकटाइसम्बन्धी व्यावहारिक ज्ञान र दक्षता प्रदान गरी सहभागीहरूलाई भविष्यमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको वाग्लेले बताए । ‘समाजमा फरक क्षमताका व्यक्तिहरूले पनि उचित अवसर पाए उत्कृष्ट काम गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न तालिम उपयोगी हुनेछ’ उनले भने ।
महिला जागृति सिलाइकटाइ प्रशिक्षण केन्द्रकी प्रशिक्षक उर्मिला सापकोटा गौतमले प्रशिक्षण दिनेछिन् । झण्डै तीन दशकदेखि सिलाइकटाइ तालिम सञ्चालन गर्दै आएकी उनले पहिलो पटक कान नसुन्ने तथा बोल्न नसक्ने छात्राहरूलाई प्रशिक्षण दिन लागेकी हुन् । फरक क्षमताका छात्राहरूलाई तालिम दिन चुनौतीपूर्ण भए पनि आफू उत्साहित रहेको उनले बताइन् ।
तालिमका लागि श्री साथी नेपालले पूर्ण सहयोग गर्ने भएको छ । संस्थाकी अध्यक्ष सरिता सापकोटाले स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना गर्न यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताइन् । उनका अनुसार तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान र दक्षता हासिल गर्न सहयोग पुर्याउनेछ ।
कार्यक्रममा सहभागी सिमराकी पुनमदेवी साह कानुले आफ्नी २२ वर्षीया छोरीलाई लिएर तालिम उद्घाटन कार्यक्रममा पुगेकी थिइन् । उनले लामो समयदेखि आफ्ना फरक क्षमताका छोराछोरीका लागि सीपमूलक तालिमको अपेक्षा गर्दै आएको बताइन् ।
उनका २२ वर्षीया छोरी र २० वर्षीय छोरा दुवै कान नसुन्ने तथा बोल्न नसक्ने फरक क्षमताका छन् । ‘सीप सिकेपछि उनीहरू आत्मनिर्भर बन्न सक्छन् भन्ने आशा बढेको छ’ पुनमले भनिन् ।
अपांग सेवासंघ बाराका अध्यक्ष शोभा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय धर्मबहादुर श्रेष्ठलगायत उपस्थित थिए ।






