प्रहरीको हिरासतबाट हत्कडीसहित फरार थुनुवा भोलिपल्ट आफैं हाजिर


eShilalekh

१६ असार २०८३, मंगलवार १७:५७

सिमरा: प्रहरी चौकी बढनियारको हिरासतबाट आइतबार हत्कडीसहित फरार भएका एक थुनुवा भोलिपल्ट आफैं चौकीमा हाजिर भएका छन्।

पर्सागढी नगरपालिका ४ पर्शुरामपुरका २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवान हिरासतबाट फरार भएपछि सोमबार प्रहरी चौकीमा हाजिर भएका हुन्।

काठ तस्करीसम्बन्धी आरोपमा पक्राउ परेका उनी खाना खाने क्रममा आइतबार साँझ करिब ८ बजे हत्कडीसहित प्रहरी चौकीबाट फरार भएका थिए। फरार भएपछि उनी आफ्नै घरमा बसेका थिए।

सोमबार बिहान उनी आफैं डिभिजन वन कार्यालय पर्साको सम्पर्कमा पुगेको डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर देवानले जानकारी दिएका छन्।

प्रहरीका अनुसार थुनुवा फरार भएपछि तत्कालै खोजी अभियान तीव्र पारिएको थियो। खोजी कार्यलाई तीव्रता दिइएपछि परिवारका सदस्यको पहलमा उनी सम्बन्धित प्रहरी चौकीमा हाजिर भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असार १४ गते पक्राउ परेका देवानविरुद्ध सवडिभिजन वन कार्यालय सबैयामा काठ तस्करीसम्बन्धी तीन वटा मुद्दा दर्ता रहेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्