ओभरलोड बोकेका सवारी साधनबाट मधेस प्रदेशमा झण्डै एक करोड ३२ लाख जरिवाना असुली

सिमराः नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेस प्रदेश अन्तर्गतका कार्यालयले चालु आर्थिक वर्षमा क्षमताभन्दा बढी भारबहन गर्ने सवारी साधनबाट मात्रै झण्डै एक करोड ३२ लाख रुपैयाँ जरिवाना असुली गरेको छ ।
ट्राफिक प्रहरीले पथलैयास्थित प्रादेशिक कार्यालयसहित मधेसका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाबाट असार १० गतेसम्म सात सय ३० वटा सवारीसाधनबाट एक करोड ३१ लाख ५८ हजार चार सय ५८ रुपैयाँ जरिवाना असुली गरेका हुन् । सप्तरी भने ओभरलोड जरिवाना असुलीमा शून्य देखिएको छ ।
ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पथलैयास्थित प्रादेशिक कार्यालयले मात्रै चालु आर्थिक वर्षको असार १० गतेसम्ममा दुई सय ४३ सवारीसाधनबाट ५४ लाख ५९ हजार चार सय ६८ रुपैयाँ जरिवाना असुलेको छ ।
जिल्लातर्फ भने पर्साले सबैभन्दा बढी जरिवाना असुल्न सफल भएको छ । पर्साले तीन सय ९४ सवारीसाधनबाट ५६ लाख २३ हजार आठ सय २८ रुपैयाँ जरिवाना असुलेको ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ३० वटा सवारी साधनबाट सात लाख ८६ हजार ९८ रुपैयाँ जरिवाना असुलेको छ भने सर्लाहीले २५ वटा सवारी साधनबाट पाँच लाख ९६ हजार आठ सय १७ रुपैयाँ जरिवाना असुलेको छ ।
धनुषा ट्राफिकले १८ वटा सवारीसाधनबाट तीन लाख ६४ हजार तीन सय ९३ रुपैयाँ, रौतहटले १२ वटा सवारीसाधनबाट दुई लाख ३९ हजार दुई सय २५ रुपैयाँ असुल गरेको छ । बाराले सात वटा सवारीसाधनबाट ८२ हजार ६ सय २९ र सिरहाले एउटा सवारीसाधनबाट ६ हजार जरिवाना असुलेको ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।
ट्राफिक प्रहरीले क्षमता र ओभरलोडको प्रकृति हेरेर कारवाही गर्ने गरेको छ । क्षमताभन्दा सामान्य बढी बोकेकालाई सवारीसाधनलाई कार्यालयबाटै न्युनतम जरिवाना र अत्यधिक भारबहन गरेकालाई यातायात व्यवस्था कार्यालय पठाउने गरिएको छ । ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले जरिवानासँगै क्षमताभन्दा बढी लोड भएका सामान अनलोड गराएर मात्रै सवारीसाधनलाई गन्तव्यमा पठाउने गरिएको बताए ।







