रौतहटको चन्द्रपुरमा टिपरको ठक्करबाट सहकारी व्यवस्थापक गम्भीर घाइते

रौतहट: रौतहटको चन्द्रपुर नगरपालिका-८ अल्टोकी गाउँमा शनिबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा चन्द्रपुर नगरपालिका-९ निवासी हरिप्रसाद तिमल्सिना गम्भीर घाइते भएका हुन् ।
म.प्र ०३–००१ क ३२६२ नम्बरको टिपरले उनको मोटरसाइकललाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको आफन्तले बताएका छन् । घाइते तिमल्सिनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको जनाइएको छ ।
तिमल्सिना मानवसेवा आश्रममा आयोजित एक कार्यक्रम सम्पन्न गरेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । उनी चन्द्रपुर-५ स्थित संकल्प बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकसमेत हुन् ।







