खस आर्य समाज कल्याण समिति पथलैयाको साधारणसभा सम्पन्न, कार्कीको नेतृत्वमा कार्यसमिति चयन

पथलैयाः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित श्री खस आर्य समाज कल्याण समितिको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाले खिलबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरेको छ । समितिको उपाध्यक्षमा मञ्जुदेवी बानिया, सचिवमा भूवनबहादुर थापा, सहसचिवमा दीपक बाँस्कोटा र कोषाध्यक्षमा सुनिता खतिवडा चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यमा राजन खतिवडा, शोभा भारती, सुभद्रा अधिकारी, केशर आचार्य, विष्णु पौडेल र पर्शुराम पौडेललाई चयन गरिएको छ । स्थापनाको समयमा गठित तदर्थ समितिलाई निरन्तरता दिँदै समितिले साधारणसभाबाट नेतृत्व चयन गरेको हो ।
निर्वाचित पदाधिकारी र सदस्यलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका थिए । यसैगरी समितिको सल्लाहकारमा उपप्रमुख भोलाप्रसाद अधिकारी र पूर्वकार्यपालिका सदस्य सुभद्रा न्यौपाने चयन भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख अधिकारीले सांस्कृतिक संरक्षण र सामाजिक समता कायम गर्न समितिले स्पष्ट उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले उपमहानगरपालिका सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र सबै वर्गको हितका लागि सधैं सकारात्मक रहेको र समितिका रचनात्मक कामहरूमा आवश्यक सहयोग तथा समन्वय गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त समेत व्यक्त गरेका छन् ।
साधारणसभामा स्थानीय संघसंस्थाका अगुवा उदयबहादुर श्रेष्ठ, रामदास धौजु, यज्ञबहादुर आले, टुनाप्रसाद भट्ट, तोयानाथ खनाल, पार्वती फुल्जेल, स्थानीय बुद्धिजीवी, खस आर्य समाजका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको आगामी कार्यदिशा र योजनाहरूमाथि समेत छलफल गरिएको थियो ।
तदर्थ समितिका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव थापाले गरेका थिए ।







