नयाँ प्रणाली लागू गर्न बारामा तीन दिन राहदानी सेवा बन्द


eShilalekh

२२ असार २०८३, सोमबार १७:५५

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले राहदानी विभागको नयाँ प्रणालीमा आबद्ध हुने तयारीस्वरूप तीन दिनका लागि राहदानी सेवा बन्द रहने जनाएको छ।

कार्यालयका प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवद्वारा सोमबार जारी सूचनाअनुसार राहदानी विभागले हाल प्रयोगमा रहेको प्रणालीलाई २०८३ असार २९ गते (१३ जुलाई २०२६) देखि नयाँ प्रणालीमा रूपान्तरण गर्ने तयारी पूरा गरेको छ।

सोही प्रक्रियाका कारण जिल्ला प्रशासन कार्यालय बाराबाट प्रदान गरिने राहदानी सेवा असार २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि स्थगित रहनेछ। सूचनामा असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ।

साथै यसअघि टोकन प्राप्त गरेका सेवाग्राहीलाई नयाँ प्रणालीमार्फत फारम भरेर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्