महोत्तरीमा अवैध सालको काठसहित ट्याक्टर नियन्त्रणमा, चालक फरार


eShilalekh

२३ असार २०८३, मंगलवार १२:४६

महोत्तरीः महोत्तरी प्रहरीले जिल्लाको गौशाला नगरपालिका ११ स्थित ढोलन खोला क्षेत्रबाट अवैध सालको काठसहित वन तस्करीमा प्रयोग भएको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

ढोलन खोला तथा आसपासका जङ्गली क्षेत्रमा काठ तस्करीको गतिविधि बढेको विशेष सूचनाका आधारमा प्रहरी चौकी कान्तिबजारबाट मङ्गलबार बिहान गस्ती टोली परिचालन गरिएको थियो ।

गस्तीमा खटिएको प्रहरी टोलीलाई देखेपछि ज १ त २५२६ नम्बरको ट्याक्टरका चालक सवारीसाधन छाडेर फरार भएका थिए । प्रहरीले उक्त ट्याक्टर र त्यसमा लोड गरिएको २५.२८ क्युफिट बराबरको ११ थान सालको गोलिया काठ नियन्त्रणमा लिन सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार बरामद गरिएको काठ र ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि लक्ष्मिनियास्थित सब–डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

फरार ट्याक्टर चालकको खोजी कार्यलाई तीव्र पारिएको र घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्