रौतहटमा कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ


eShilalekh

२३ असार २०८३, मंगलवार १३:५९

रौतहटः रौतहटको गरुडा नगरपालिका ५ झाझपुलस्थित एक मदिरा पसलबाट कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका ९ गम्हरिया बिर्ताका ४२ वर्षीय सदरे आलम रहेका छन् ।

स्थानीय गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा शङ्कास्पद अवस्थामा फेला परेका आलमको शरीर खानतलासी गर्दा उनको कम्मरमा भिरिरहेको अवस्थामा एक राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको हो ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा आलमले उक्त मदिरा पसलको पछाडि रहेको खेतको झ्याङमा थप गोली र नगद रुपैयाँ लुकाईछिपाई राखेको स्वीकारेका थिए ।

सोही बयानका आधारमा खानतलासी गर्दा उनको साथ र लुकाइएको स्थानबाट कटुवा पेस्तोलमा प्रयोग हुने चार थान लाइभ राउण्ड गोली, एक थान ब्ल्याङ्क राउण्ड गोली, कालो रङको पर्सभित्र रहेको २४ हजार पाँच सय भारतीय रुपैयाँ, ३२ हजार पाँच सय नेपाली रुपैयाँ र दुई पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको छ ।

पक्राउ परेका आलममाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्