यातायात कार्यालय बाराका निमित्त प्रमुख आचार्य जिम्मेवारीमुक्त, प्रहरीद्वारा जिम्माजमानीमा रिहा


eShilalekh

२३ असार २०८३, मंगलवार १८:०१

कलैया: सेवाग्राहीमाथि कार्यकक्षमै दुर्व्यवहार तथा कुटपिट गरेको आरोप लागेका यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्य जिम्मेवारीमुक्त भएका छन् । हातपातको भिडियो सार्वजनिक भएर विवादमा तानिएपछि मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले आचार्यमाथि विभागीय कारबाही गरेको हो।

मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको जिम्मेवारी खोसेर उनलाई मन्त्रालयमा तानेको छ। यातायात व्यवस्था कार्यालय बाराको निमित्त प्रमुखको जिम्मेवारी अब अधिकृत रामस्वार्थ महतोलाई दिइएको मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार साहले जानकारी दिए ।

गत फाल्गुन तेस्रो साता आचार्यले आफ्नै कार्यकक्षमा कलैया उपमहानगरपालिका–२३ का अरुण कुशवाहामाथि हातपात गरेको भिडियो केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो सार्वजनिक भएसँगै चौतर्फी दबाब बढेपछि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान सुरु गरेको थियो ।

सोमबार प्रहरीले आचार्य र पीडित भनिएका कुशवाहा दुवैलाई कार्यालयमा बोलाई सोधपुछ गरेको थियो । सो क्रममा प्रहरीले आचार्यलाई नियन्त्रणमा राखेर कुशवाहालाई जाहेरी लिएर आउन आग्रह गरेको थियो ।

असार २३ गते बिहान १० बजे जाहेरीसहित उपस्थित हुने भन्दै निस्किएका कुशवाहा नफर्किपछि आचार्यलाई खोजेको बेला उपस्थित हुने गरी जिम्माजमानीमा छाडिएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्