युवतीमाथी दुर्व्यवहार र हातपात गरेको आरोपमा स्थानीयबाट कुटिए एक युवक

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा युवतीमाथी दुर्व्यवहार र हातपात गरेको आरोपमा एक युवकलाई स्थानीयले कुटपिट गरेका छन् । कुटपिटबाट वीरगन्ज महानगरपालिका-२८ का ३४ वर्षीय अजय सहनी घाइते भएका छन् ।
सहनीले बुधबार साँझ जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारकी एक १९ वर्षीय युवतीलाई जबरजस्ती खोलामा पछारेर घाँटी थिचेको स्थानीयको आरोप छ । युवतीमाथी दुर्व्यवहार भएको देखेपछी केही स्थानीयले सहनीलाई बिजुलीको पोलमा बाँंधेर कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएका सहनीलाई जीतपुरसिमरा नगर अस्पतालबाट थप उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको छ । उनको शरीरमा भित्रि चोट देखिएकाले प्रहरी निगरानीमा उपचार भइरहेको छ ।
यता घटनामा युवती समेत घाइते भएकी छिन् । प्रहरीका अनुसार युवतीको घाँटी सुन्निएको छ । युवतीको पनि नारायणी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।







