सिरहामा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते


eShilalekh

२५ असार २०८३, बिहीबार १२:२९

सिरहाः सिरहाको गोलबजार नगरपालिका ९ चोहर्वामा स्कुल बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङ स्कुलको बस एक्कासि उत्तर गोविन्दपुरतर्फ मोडिने क्रममा सोही दिशाबाट आउँदै गरेको म.प्र. ०१–००५ प ३४०६ नम्बरको मोटरसाइकल बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको छ र उनको शवलाई हाल मिर्चैया अस्पतालमा राखिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उक्त मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनामा मिर्चैया ५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन् ।

टाउको, दुवै हात र दुवै खुट्टामा चोट लागेर गम्भीर अवस्थामा रहेका रिहानलाई गोलबजारको लाइफ लोङ्ग अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि विराटनगर रिफर गरिएको छ भने बायाँ खुट्टा, बायाँ हात र टाउकोमा चोट लागेका राइनको गोलबजारमै उपचार भइरहेको छ ।

हाल प्रहरीले बस र चालक दुवैलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्