रौतहटमा एक महिलाको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु


eShilalekh

२५ असार २०८३, बिहीबार १५:२६

रौतहटः रौतहटको राजपुर नगरपालिकामा बिहीबार बिहान एक महिलाको शव नहरमा फेला परेको छ ।

राजपुर नगरपालिका ३ स्थित राजपुर–फतुवा सडकखण्ड छेउको नहरमा परोहा नगरपालिका ५ का शेख मोबिनकी २४ वर्षीया श्रीमती मुस्कान खातुन शव तैरिरहेको अवस्थामा फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट अपराध अनुसन्धान टोलीसहितको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । उनी यसअघि पनि घरबाट हराउने गरेकी र उनको खोजतलासका लागि प्रहरीमा उजुरीसमेत परेको बुझिएको छ ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै खुल्ने डीएसपी गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्