अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जीतपुरसिमरामा प्यानल छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिमराः ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । दिवसका अवसरमा बुधबार उपमहानगरपालिकाको सभाहलमा प्यानल छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
नेत्रहिन युवा संघ नेपाल र सीबीएम ग्लोबल अपाङ्गता समावेशीकरणको संयुक्त आयोजना तथा जीतपुरसिमरा उपमहानगरपालिका र सिमरा जेसीजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरू, विद्यार्थी, शिक्षक, विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले स्थानीय सरकार सबै नागरिकको समान पहुँच र अधिकारका लागि प्रतिबद्ध रहेको बताए । उनले नगरभित्रका युवा, विशेष गरी अपाङ्गता भएका वा फरक क्षमता भएका युवाहरूलाई मूलधारमा ल्याउन उपमहानगरपालिकाले आगामी दिनमा थप समावेशी नीति र कार्यक्रम निर्माण गर्ने स्पष्ट पारे ।
उपप्रमुख भोलाप्रसाद अधिकारीले समाजमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपरेका चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय सरकार संवेदनशील रहेको उल्लेख गरे । बजेट विनियोजनदेखि लिएर तालिम, रोजगारी र अपाङ्गतामैत्री पूर्वाधार निर्माणमा उपमहानगरपालिकाले प्राथमिकता दिने अधिकारीको भनाई थियो ।

उद्घाटन समारोहपछि अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिहरुको अधिकार, चुनौती, अवसरलगायतका विषयमा केन्द्रीत रहेर प्यानल छलफल गरिएको थियो । छलफलमा उपप्रमुख अधिकारी, अपाङ्गता समन्वय समितिका सदस्य खेमकुमारी कार्की, सञ्चारकर्मी सुरेश बिडारी, सामाजिक अभियन्ता सर्वेश पौडेल र नेत्रहिन युवा संघ बाराका कोषाध्यक्ष शिवेन्द्रकुमार यादव प्यानलिस्टका रूपमा रहेका थिए ।
अन्तरक्रियामा दृष्टि सम्बन्धी, शारीरिक तथा अन्य फरक क्षमता भएका युवाहरूले आफ्ना दैनिक समस्या, समाजमा भोग्नुपरेका विभेद र अवसरको कमीबारे सिधा प्रश्नहरू राखेका थिए । सहभागीहरूका प्रश्नको जवाफ दिँदै प्यानलिस्टहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार र सरोकारवाला निकायहरू मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । प्यानल छलफल कार्यक्रमको सहजीकरण सञ्चारकर्मी निलिसा बर्माले गरेकी थिईन् ।

यसअघिको उद्घाटन समारोहमा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, सिमरा जेसीजका अध्यक्ष सुमित अधिकारी, फकिरागिरी राजेश्वरगिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु सिंह, विभिन्न विद्यालयका शिक्षक, संघसंस्थाका प्रतिनिधि र सामाजिक अभियन्ताको उपस्थिति रहेको थियो । उद्घाटन समारोहको सहजीकरण सिमरा जेसीजका महासचिव सञ्जिव सुवेदीले गरेका थिए ।








