जन्मोत्सवमा राजी राणाको उपहार: अपाङ्गता भएका आठ जनालाई ट्राईसाइकल र ह्विलचियर


eShilalekh

३ भाद्र २०८३, बुधबार १५:०९

सिमराः जीवनको ८८औं वसन्त प्रवेश गर्दा मानिसहरु विश्रामको बाटो रोज्छन् । तर बारा सिमराकी समाजसेवी राजी राणा भने यो उमेरमा पनि समाजका बेसहाराका लागि बलियो सहारा र अँध्यारो जीवनमा आशाको चम्किलो दीप बनेर बलिरहेकी छिन् ।

आफूलाई तिनै र त्यस्तै नागरिकका लागि समर्पित गरेझैं सेवा गरिरहेकी राणाले ८८औं जन्मोत्सव अपाङ्गता भएका व्यक्तिहरूमा समर्पण गरेकी छिन् । राणाले यसपटक आफ्नो जन्मोत्सवमा आठ जना अपाङ्गता भएका व्यक्तिलाई उपयोगी सवारी साधन ट्राईसाइकल र ह्विलचियर उपलब्ध गराएकी छिन् ।

नेपाल अपाङ्ग सेवा संघ बारासँगको सहकार्यमा राणाले जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाका ६ जनालाई ट्राईसाइकल र दुई जनालाई ह्विलचियर उपलब्ध गराईन् । उनले आफ्ना सहयोगीहरूमार्फत सोझै उनीहरूको आँगनमै सामग्री पुर्याउन लगाएकी थिइन् ।

सहायता सामग्री पाएपछि अपाङ्गता भएका व्यक्ति र उनको परिवार खुशी देखिएको छ । लामो समयदेखि सहायता सामग्री अभावमा समस्या भोग्नुपरेको भन्दै परिवारले अबको दिन सहज हुने प्रतिक्रिया दिएका थिए ।

आफ्नो जन्मोत्सवलाई रचनात्मक बनाएकी राणाको परोपकारी यात्राले सयौं व्यक्ति प्रत्यक्ष लाभान्वित छन् । आफ्ना दिवंगत पति प्रभु शमशेर जबराको स्मृतिलाई जिवन्त राख्न उनले प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी मार्फत सेवाको यो अभियान निरन्तर अघि बढाईरहेकी छिन् । सामाजिक व्यक्तित्व प्रभु शमशेरको निधनपछि पत्नी राणाले परोपकारको अभियानलाई निरन्तरता दिईरहेकी छिन् ।

पतिको वियोगको पीडालाई समाजसेवाको शक्तिमा बदलेकी राणाले यसअघि जीतपुरसिमरा उपमहानगरपालिका–६ मा २० घर मुसहर परिवारका लागि बस्तीनै निर्माण गरिदिएकी थिइन् । उक्त बस्ती हस्तान्तरण गरेयता २० घरपरिवार मुसहर बस्तीले ठुलो सहाराको अनुभूति गरिरहेका छन् । राणाले सिमरामा युवा खेलाडीका लागि डेढ करोड भन्दा बढीको लागतमा फुटबल एकेडेमी निर्माण गरिदिएकी छिन् भने मन्दिर, बजार र सरकारी कार्यालय अगाडि सर्वसाधारणका लागि शुद्ध पिउनेपानीको व्यवस्था गरेकी छिन् ।

यसका साथै उनले विपन्न विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री उपलब्ध गराउँदै आएकी छिन् । राणा आफूले गरेको सहयोगबाट लक्षित वर्ग प्रत्यक्ष लाभान्वित भएको हेर्न चाहन्छिन् । प्रचारबाजीभन्दा मौन कर्ममा विश्वास राख्ने राणाले आफ्नो रचनात्मक र समर्पण भावका कारण बारा र आसपासका क्षेत्रमा समाजसेवाको उच्च र बेग्लै पहिचान स्थापित गर्न सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्