बालिका हत्या प्रकरणः १६ वर्षीय बालक पक्राउ, घटनाको विरोधमा स्थानीयको प्रदर्शन


eShilalekh

३ भाद्र २०८३, बुधबार १३:१०

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । जीतपुरसिमरा-२ घर भएका १६ वर्षीय बालकले गरिमालाई बलात्कारपछि हत्या गरेको खुलेको हो ।

प्रहरीले घटनामा संलग्न बालकलाई मंगलबार राति पक्राउ गरेको छ । प्रहरीका अनुसार बालकले बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान रहेको घरमा लगेको र बलात्कारपछि हत्या गरेका हुन् । साउन ३१ गते बेपत्ता भएकी बालिकालाई सोही दिन हत्या गरेको बयान बालकले प्रहरी समक्ष दिएका छन् ।

बालक स्थानीय प्रोग्रेस चौधरीले चलाउने म्याजिकको सहचालक हुन् । प्रहरीले चालक चौधरीलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने बालिकाको शव शल्यपरिक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । बालिकाको शव फेला परेको केही बेरमै प्रहरीले बालकलाई पक्राउ गरेको हो ।

यता घटनाको विरोधमा स्थानीयले बुधबार पथलैया-वीरगन्ज सडकखण्डमा प्रदर्शन गरेका छन् । दोषीमाथि कडा कारवाहीको माग राख्दै स्थानीयले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले दोषीलाई हदैसम्मको कारवाही गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्