गरिमा हत्या प्रकरण: प्रहरी नियन्त्रणमा रहेका बालकको ओसीएमसी भिडियो सामाजिक संजालमा भाइरल


eShilalekh

८ भाद्र २०८३, सोमबार ११:०४

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाका मुख्य आरोपित १६ वर्षीय बालकको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । कलैया प्रादेशिक अस्पतालस्थित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा चिकित्सकले बालकसँग परामर्श गरिरहेको गोप्य भिडियो बाहिरिएपछि अनुसन्धान र गोपनीयताको विषयलाई लिएर प्रहरी तथा अस्पताल प्रशासनमाथि प्रश्न उठेको छ ।

सार्वजनिक भिडियोमा हतकडी लगाइएका बालकले घटनामा आफ्नो मात्र नभई प्रदीप खड्का भनिने अर्का व्यक्तिको समेत संलग्नता रहेको बयान दिइरहेको सुनिन्छ। यसअघि उनले घटना एक्लै गरेको दाबी गर्दै आएका थिए । ओसीएमसी कक्षमा प्रहरी र स्वास्थ्यकर्मी बाहेक अन्य व्यक्तिको प्रवेश निषेध हुने भए पनि त्यहाँ उपस्थित कर्मचारी वा प्रहरीबाटै भिडियो खिचिएर बाहिरिएको आशंका गरिएको छ।

संवेदनशील ओसीएमसी कक्षभित्र खिचिएको भिडियो आइतबार साँझदेखि सामाजिक संजालमा छरपस्ट भएको हो । जसले अनुसन्धान प्रक्रियामा बाधा पुर्याउने जोखिम बढाएको छ । कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डलले भिडियो बाहिरिएको विषयमा छानबिन गर्न आकस्मिक बैठक बोलाइएको र प्रहरीसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।

बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले भिडियो कलैया अस्पतालकै देखिएको र यसलाई कसले सार्वजनिक गर्‍यो भन्ने विषयमा गम्भीर अनुसन्धान भइरहेको बताएका छन् ।`स्वास्थ्य जाँच गर्न लगिएको बेलाको भिडियो हो, हामी अनुसन्धान गर्दैछौं’ कुँवरले भने ।

गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय बालकसहित २४ वर्षीय प्रोग्रेस चौधरी र उनका परिवारका सदस्यहरू हाल प्रहरी हिरासतमा रहेका छन्। घटनाको गम्भीरता र नाबालक आरोपितको कानुनी गोपनीयताको ख्याल नगरी भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासन र अस्पताल दुवै पक्ष दबाबमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्