ओसीएमसी कक्षको गोप्य भिडियो लिक गर्ने प्रहरी हवल्दार पक्राउ

सिमरा: तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका १६ वर्षीय बालकको ओसीएमसी कक्षभित्रको गोप्य भिडियो लिक गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन् । कलैया प्रादेशिक अस्पतालस्थित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा चिकित्सकले बालकसँग परामर्श र सोधपुछ गरिरहेको भिडियो आइतबार साँझदेखि भाइरल बनेको थियो ।
अनुसन्धानको गम्भीरता र गोपनीयताको उल्लंघन गर्दै भिडियो सार्वजनिक भएपछि छानबिनमा उत्रिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रहरी हवल्दार विकमाथि फौजदारी कसुरअन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाउने बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिएका छन् ।
संवेदनशील कक्षको गोप्य भिडियो बाहिरिएपछि बालिका हत्या प्रकरणको अनुसन्धान गरिरहेको बारा प्रहरी प्रशासन दबाबमा परेको थियो । भाइरल भिडियोमा हातमा हतकडी लगाइएका बालकले चिकित्सकसँगको कुराकानीमा हत्यामा आफूबाहेक अर्का एक साथीको पनि संलग्नता रहेको दाबी गरेका छन् । यसअघि उनले एक्लै घटना गराएको बयान दिँदै आएका थिए ।







