डालासका युवाद्वारा तीन करोडको पुनर्निर्माण कोष घोषणा, राजभाटले गरे ३० लाख सहयोग


रामप्रसाद अधिकारी

१५ भाद्र २०८३, सोमबार १२:१२

डालास (अमेरिका): रसुवामा आएको विनाशकारी बाढीका कारण देश शोक र पीडामा डुबिरहेका बेला प्रवासमा रहेका नेपाली युवाहरूले दीर्घकालीन उद्धार तथा पुनर्निर्माणको ठूलो जिम्मेवारी आफ्नो काँधमा लिएका छन् । मूल घर गोरखाको पालुङटार भई हाल अमेरिकाको डल्लासमा बसोबास गर्दै आएका नेपाली युवाहरूको विशेष पहलमा तीन करोड नेपाली रुपैयाँ बराबरको राहत तथा पुनर्निर्माण कोषको घोषणा गरिएको छ ।

‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’ को संयुक्त आयोजनामा यो महत्त्वाकांक्षी अभियान सुरु भएको हो । अभियानको नेतृत्व गरिरहेका ‘भिजिट नेपाल’ का अध्यक्ष तथा युवा उद्यमी राजीव राजभाटले आफ्नो व्यक्तिगत तर्फबाट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन् ।

राजभाटले देशमा परेको ठूलो विपद्को समयमा सबै नेपाली एकजुट भएर सहयोग गर्नुपर्ने बताए । आफ्नै गृहजिल्ला र छिमेकी क्षेत्र विपद्को चपेटामा परिरहेका बेला डल्लासमा रहेका युवाहरूले देखाएको यो अग्रसरतालाई राहत अभियानमा ठूलो सहाराका रूपमा हेरिएको छ ।

‘एक नेपाली, एक रुपैयाँ’

विश्वभर रहेका प्रत्येक नेपालीको भावनात्मक सहभागिता दर्शाउने हेतुले ‘एक नेपाली, एक रुपैयाँ’ को अवधारणासहित तीन करोडको कोष खडा गरिएको हो। बाढी प्रभावित क्षेत्रका भत्किएका पूर्वाधार निर्माण, विस्थापित परिवारको पुनर्स्थापना तथा पीडित बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योजनाअन्तर्गत उक्त रकम खर्च गरिने बताइएको छ ।

प्रवासमा रहेर पनि मातृभूमिको दुःखमा मल्हम लगाउने डालासका युवाहरूको यो कदमले अन्य गैरआवासीय नेपालीहरूलाई पनि राहत र पुनर्निर्माणमा जुट्न प्रेरणा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्