जनमत पार्टीको अध्यक्षतामा सिके राउत निर्वाचित, सचिवमा बाराका पारसप्रसाद साह बिजयी


eShilalekh

१८ आश्विन २०८३, आईतवार १५:२०

सिमराः जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित भएका छन् । वीरगन्जमा आयोजित दोस्रो महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा राउत ९ सय ५८ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो । अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतको पक्षमा पनि मतदान भएको थियो ।

यसैगरी उपाध्यक्षमा माधवप्रसाद सिंह (पर्सा), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा), अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा) र नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु) विजयी भएका छन् । उपाध्यक्ष पदमा ११ जना प्रतिस्पर्धामा थिए । 

महासचिव पदमा सञ्जयकुमार यादव (सिरहा) निर्वाचित भएका छन् । यादव ६१८ मत सहित विजयी भएका हुन् । महासचिवका लागि ममता झा र चन्दनकुमार सिंहले पनि उम्मेदवारी दिएका थिए । झाले दुई सय २० र सिंहले एक सय ६५ मत पाए । उनीहरुले २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ ।

उपमहासचिव पदमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी रौतहटका ललितचन्द्र मल्लिक चार सय १४ मत पाउँदै पराजित भए । 

सचिव पदमा बाराका पारसप्रसाद साहसहित, सुरेन्द्र शर्मा, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् । सात जना सचिवका लागि ९ जना चुनावी मैदानमा थिए । बाराका रामबाबु साह र महोत्तीका वीरेन्द्र महतो पराजित भए ।

यसैगरी कार्यकारिणी सदस्यमा बाराबाट चार जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा शिवनाथ पटेल, सन्तोष पटेल, बिजय गुप्ता, सुरेश प्रसाद र गजानन्द प्रसाद यादव निर्वाचित भए । बाराका विकासकुमार सिंह, राजकुमार कुशवाहा, लक्ष्मीकान्त गुप्ता, राजेश साह, राजु प्रसाद साह, सदाम अन्सारी र फिरोज अन्सारी पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्