औराहा पशुपालन कृषि सहकारीद्वारा एक सय ७३ किसानलाई दूधको बोनस वितरण

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका-४ स्थित औराहा पशुपालन कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयरधनी तथा दुग्ध उत्पादक किसानहरूलाई बोनस वितरण गरेको छ । सहकारीले दूध संकलनमा योगदान पुर्याएका एक सय ७३ जना किसानहरूलाई प्रति लिटर दुई रुपैयाँका दरले कुल आठ लाख ५० हजार रुपैयाँभन्दा बढी बोनस रकम वितरण गरेको हो ।
दशैंको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा बोनस वितरण समारोहमा मधेश प्रदेश बारा क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य देवनारायण चौधरी प्रमुख अतिथि रहेका थिए । चौधरीले संसदीय विकास कोषको बजेटबाट निर्मित सहकारीको नयाँ भवनको समेत औपचारिक उद्घाटन गरेका छन् ।
समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, संस्थाका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहाकार मदनबहादुर क्षेत्री, स्थानीय प्रतिनिधि, दुग्ध उत्पादक किसानलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले किसानहरूको आर्थिक स्तर उकास्न र दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न सहकारीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।







