जीतपुरसिमरा-२ मा कुकुरको आतंक: पूजा गर्न गएकी महिलामाथि आक्रमण, उपचारका लागि काठमाडौं लगियो

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित जगदम्बा स्टील्स पछाडिको बस्तीमा टोकाहा कुकुरको आतंक बढेको छ । एक सातादेखी आतंक मच्चाउदै आएको कुकुरले सोमबार बिहान स्थानीय मन्दिरा रिजालमाथि आक्रमण गरेको छ ।
मन्दिरमा पूजा गर्न गएका बेला कुकुरले आक्रमण गर्दा रिजालको मुखमा गम्भीर चोट लागेको छ भने ओठको भाग लुछिएको छ । उपचारका लागि तत्कालै वीरगन्ज लगिएकी रिजाललाई थप उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त कुकुरले केही दिन अगाडि सोही क्षेत्रमा तीन वर्षीया बालिका आयंका तामाङलाई टोकेर मुख र चिउँडोमा गम्भीर चोट पुर्याएको थियो । बालिकालाई काठमाडौं लगेर प्रारम्भिक उपचार गराई हाल घर ल्याइएको भए पनि थप उपचारमा करिब तीन लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
बालिकाको उपचारमा खर्चको अभाव भएको पूर्वजनप्रतिनिधि शोभा कार्कीले जानकारी दिएकी छिन् । उपचारमा ठूलो रकम लाग्ने भएपछि बालिकाको अभिभावक समस्यामा परेको कार्कीले जानकारी दिइन् ।
कार्कीका अनुसार उक्त कुकुरले अर्का एक बालकको पाखुरामा समेत टोकेर घाइते बनाएको छ । बालकको पहिचान खुल्न बाँकी छ ।
यता बस्तीमा एक सातादेखि त्रास फैलाइरहेको कुकुरलाई खोज्दा पनि फेला पार्न सकिएको छैन । एकैदिन दुई जनालाई टोकेपछि गाउँका युवाहरू कुकुरको खोजीमा जुटेका छन् ।
यता नगर प्रमुख राजन पौडेलले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सचेत रहन आग्रह गर्दै उक्त कुकुर देखेमा तुरुन्त सूचना दिन अनुरोध गरेका छन् ।







