फर्पिङबाट लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ


eShilalekh

२ कार्तिक २०८३, सोमबार १३:२२

सिमरा: काठमाडौंको फर्पिङबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित बारा र पर्साका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२३ कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्सा वीरगन्ज महानगरपालिका-१७ अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन् ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा२०च ७५८८ नम्बरको कारको डिक्कीमा लुकाएर राखिएको अवस्थामा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्कमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले सोमबार बिहान करिब ४:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्